झापा, ११ भदौ । भद्रपुर नगरपालिका वडा नं.९ स्थित केदारेश्वर शिवालय मन्दिर छेउबाट आज दिउँसो हराएकी भनिएकी बालिका मृत फेला परेकी छन् ।
स्थानीय सोमनाथ सिग्देलकी २६ महिनाकी छोरी निर्जला मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनको शव घरदेखि ५०० मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घर नजिकै रहेको केदारेश्वर शिवालय मन्दिर आमाबुबाले छोरी निर्जलालाई सँगै भजन सुन्न लगेका थिए । मन्दिरभित्र आमाबुबा भजन सुनिरहेको बेला निर्जला बाहिर खेल्दाखेल्दै नालामा पुगेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।
बालिका हराएको भन्दै सामाजिक सञ्जालमा उनको तस्बिर समेत भाइरल बनेको थियो । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापालाई समेत खबर गरिएको थियो । बालिकाको खोजी गर्ने क्रममा साढे ३ घण्टापछि मन्दिर अगाडिको नालामा डुबेको अवस्थामा बालिकाको शव फेला परेको हो ।







