झापा, २४ माघ । भद्रपुर क्रिकेट क्लबको आयोजनामा झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इन्डो-नेपाल टी-२० च्याम्पियनसिपमा भद्रपुर सेमिफाइनलमा प्रवेश गरेको छ।
आज सम्पन्न समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा भारतको क्रिकेट कोचिङ प्रतिष्ठान नयाँ दिल्लीलाई ८ विकेटले पराजित गर्दै भद्रपुरले दुई जितसहित अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
पहिले ब्याटिङ गरेको नयाँ दिल्लीले १९.२ ओभरमा सबै विकेट गुमाएर ११३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा भद्रपुरले २ विकेटको क्षतिमा १४.३ ओभरमै लक्ष्य पूरा गर्दै प्रभावशाली जित दर्ता गर्यो।
भद्रपुरका कप्तान अंकित सुवेदीले ४३ बलमा सर्वाधिक ४३ रन बनाए। नयाँ दिल्लीका अकित रावतले २८ बलमा ३९ रनको योगदान दिए पनि अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
बलिङतर्फ भद्रपुरका मोहम्मद आदिल आलमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। नयाँ दिल्लीका सबा करिमले ४ ओभरमा २४ रन दिएर १ विकेट लिए।
प्रतियोगिताअन्तर्गत आइतबारदेखि समूह ‘बी’ का खेल सुरु हुने आयोजकले जनाएको छ। पहिलो खेल गण्डकी हिरोज क्लब पोखरा र भारतको ग्लोबल स्टार लखनउबीच हुनेछ भने दोस्रो खेल फ्रेन्ड्स युथ क्लब डडेलधुरा र स्नोलायन क्लब सिक्किम (भारत) बीच हुने तालिका छ।







