झापा , ९ फागुन । भद्रपुर झापा गोल्डकपको पहिलो क्वाटरफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिसबीच आज प्रतिस्पर्धा हुँदै छ ।
मेची रङ्गशालामा अपराह्न क्वाटरफाइनल हुनेछ । गोल्डकपमा आयोजक ब्लेजर्सले उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिसलाई पराजित गरेको हो । प्रतियोगितामा स्वदेशीसहित भारत, भुटान र बंगलादेशका १० टिम सहभागी छन् ।
यही फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन १६ गतेसम्म जारी रहनेछ । दार्जिलिङ पुलिस क्लब र ‘ए’ डिभिजनको मच्छिन्द्र क्लब पहिलो खेल हारेर प्रतियोगिताबाट बाहिरिएका छन् ।
हिजो भएको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।