Logo

भद्रपुर झापा गोल्डकप आजदेखिः १० टिमको सहभागिता



झापा, ७ फागुन । भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आजदेखि प्रारम्भ हुँदैछ । उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र पाहुना टोली भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ ।

मेची रङ्गशालामा दिउँसो २ः३० बजे खेल सुरु हुनेछ । गोल्डकपमा नेपाल, भारत, भुटान र बङ्गलादेशका १० टोली भिड्दैछन् । प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्स, ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सशस्त्र प्रहरीको एपिएप एफसी र झापा–११ गरी सात नेपाली टोली सहभागी हुँदैछन् ।

यसैगरी भारतको दार्जिलिङ पुलिस एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घ गरी तीन विदेशी टोली सहभागी छन् ।

फागुन १६ गते हुने गोल्डकपको फाइनलको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेका छन् भने सौर्य एयर तथा ओम साई पाथीभरा हस्पिटल भद्रपुर मुख्य प्रायोजकको रुपमा रहेको गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्