Logo

भद्रपुर झापा गोल्डकप: चर्च ब्वाइज युनाइटेड क्वाटरफाइलनमा प्रवेश



भद्रपुर, ८ फागुन । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ ।

सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे । सिंहले ४० औँ र चौधरीले खेलको ५६ औँ र ६० औँ मिनेटमा गोल गरे । किप्परबाट पञ्च भएको बललाई पेनाल्टी एरियामा रहेका सिंहले गोलमा परिणत गरेका थिए ।

पहिलो गोलपछि आक्रमक बनेको चर्च ब्वाइजले दोस्रो हाफमा थप दुई गोल ग¥यो । दुवै गोल चर्च ब्वाइजका स्ट्राइकर चौधरीले गरेका थिए ।

खेलको ५६ औँ मिनेटमा सुवास गुरुङले गरेको पासमा पेनाल्टी एरियामा रहेका चौधरीले गोलमा परिणत गरेका थिए । लगत्तै ६० औँ मिनेटमा चौधरीले अर्को गोल थपेका हुन् । मैदानबाट बल अघि बढाउँदै चौधरीले गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको अधिकांश समय पुलिस क्लब चर्च ब्वाइजको दबाबमा परेको थियो ।

खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका आशिष चौधरी घोषित भए । उनले नगद २० हजार पुरस्कार पाएका हुन् ।

जितसँगै चर्च ब्वाइजले क्वाटरफाइनलमा बुधबार मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ । मंगलबारको पहिलो क्वाटर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र संकटाबीच हुने आयोजक भद्रपुर-झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रथम भद्रपुर झापा गोल्डकपलाई चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्