Logo

भद्रपुर झापा गोल्ड कप र मुख्य प्रायोजकबीच सम्झौता



झापा, २४ माघ । पहिलो संस्करणको भद्रपुर झापा गोल्डकप २०७९ र चौधरी ग्रुपको उत्पादन मुस्ताङबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब ‘मुस्ताङ भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ ।

आज भद्रपुरस्थित होटल आनीको सभाहलमा भएको सम्झौतापत्रमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र मुस्ताङका तर्फबाट नेसनल सेल्स हेड युवराज खत्रीले हस्ताक्षर गरेका हुन् ।

प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म भद्रपुर-८ मा रहेको मेची रंगशालामा हुनेछ ।

पहिलो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको झापा गोल्डकपका अध्यक्ष ढकालले जानकारी थिए ।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाउनेछ । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको प्लेयर अफ द म्याच १० हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगितामा आयोजक भद्रपुर झापा ११, नेपालका तीन विभागीयसहित ६ वटा डिभिजन क्लब र भारत, भुटान र बंगलादेशका तीन विदेशी क्लबको सहभागिता रहने झापा गोल्डकपका अध्यक्ष ढकालले बताए ।

उक्त कार्यक्रममा संरक्षक भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले प्रतियोगिता आयोजनाले भद्रपुर तथा दक्षिण झापामा उत्साह छाएको बताएका छन् ।

उक्त सम्झौता कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, आयोजक समितिका वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली, उपाध्यक्ष हिक्मत घिमिरे, महासचिव जीवनकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिवालय सदस्य हिमाल खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्