Logo

भद्रपुर झापा गोल्ड कप हेर्न सामुदायिक विद्यालयका विद्यार्थीलाई शुल्क नलाग्ने



भद्रपुर, ११ माघ । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपका सबै खेलमा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रवेश नि:शुल्क गरिने भएको छ ।

गोल्ड कपका अध्यक्ष दिपेश ढकालले यसअघि नै भद्रपुर नगर क्षेत्रका सरकारी विद्यालयका विद्यार्थीले रंगशाला प्रवेश गर्दा शुल्क नलाग्ने घोषणा गरेका थिए ।

आज गोल्ड कपको सचिवालयमा भद्रपुर नगरपालिकाभित्र रहेका सरकारी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुसँग भएको छलफलमा अध्यक्ष ढकालले विद्यार्थीको प्रवेशबारे प्रतिबद्धता जनाएका छन् ।

महासचिव जीवनकुमार श्रेष्ठका अनुसार विद्यालयले आलोपालो गरेर प्रतियोगिताका बेला विद्यार्थी पठाउनुपर्ने छ ।

सामुदायिक विद्यालयका विद्यार्थीलाई खेलकुदसँग जोड्न सहज होस् भनेर प्रवेश नि:शुल्क गरिएको सल्लाहकार टिकाराज ढकालले बताए ।

उक्त छलफलमा विद्यालयका शिक्षकहरुले भद्रपुर झापा गोल्ड कप नगर तथा जिल्लाकै गोरव भएकाले आफूहरुले पनि अपनत्व ग्रहण गर्ने प्रतिबद्धता जनाएका थिए ।

सो छलफलमा प्रधानाध्यापकहरु पुरुषोत्तम खरेल, शिव पोखरेल, दशरथ प्रधान, होमनाथ गुरुङ, राम घिमिरे, ललित लिम्बू, डिल्लीराम पोखरेल, सीता बिमली, अनिता बिमली, अर्जुन राजवंशी, खिलानाथ कोइराला, चमकलाल राजवंशी, नारद प्याकुरेल, कृष्ण न्यौपाने लगायतले आ-आफ्नो धारणा तथा सुझाव राखेका थिए ।

यसैबीच, प्रतियोगिताका सबै खेलमा विशेष परिस्थितिका नागरिकलाई प्रवेश नि:शुल्क गरिने भएको अध्यक्ष ढकालले बताए ।

त्यस्तै, नगरभित्रका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई पनि प्रवेश नि:शुल्क गरिएको ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्