Logo

भद्रपुर नगरपालिकाको नव निर्मित वडा कार्यालय भवन उद्घाटन



झापा, २३ जेठ । झापाको सदरमुकामा रहेको भद्रपुर नगरपालिकाको वडा नं ३ को कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ ।

२०७४ देखि भाडाको घरबाट वडाको कामकाज गर्दै आएको वडा कार्यालयले भच्चकवस्तीमा निर्मित भवनको उद्घाटन गरिएपछि सोही भवनबाट वडावासीलाई सेवा दिन थालेको हो ।

वडा कार्यालय परिसरमा आयोजित एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल तथा उपप्रमुख राधा कार्कीले संयुक्त रुपमा व्यानर खोलेर भवनको उद्घाटन गर्नुभएको थियो ।

वडाध्यक्ष हेमबहादुर कार्कीको अध्यक्षतामा आयोजित सोही समारोहका बीच वडा कार्यालय भवनका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरु ओमप्रकाश सरावगी, सत्यनारायण तायल, धनुहाङ सुहाङ, कल्याणकुमार राई, आइतबहादुर लिम्बू, श्याम थापा मगर, निलमकुमार राई, कुबेर गुरुङ, भीमप्रसाद राई र केबिर लिम्बूलाई सम्मान गरिएको थियो ।

समारोहमा उपस्थित जग्गादाताहरुलाई समारोहका प्रमुख अतिथि नगरप्रमुख पोखरेल, उपप्रमुख कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलालगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो।

जग्गादाहरुले वडा कार्यालयका लागि पाँच कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि नेपाल सरकारको १ करोड २४ लाख रुपैयाँ लागतमा दुईतले भवन निर्माण भएको थियो ।

पर्याप्त क्षेत्रसहितको सुविधासम्पन्न भवनबाट वडावासीलाई सेवा प्रदान गर्न निकै सहज हुने वडाध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्