झापा, २० असार । विहार तथा पश्चिम बङ्गाल राज्यसँग सीमा जोडिएको भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाका लागि सरोकारवालाले माग गरेका छन् ।
काँकरभिट्टास्थित क्वारेन्टिन कार्यालयको आयोजनामा आज भद्रपुरमा प्लान्ट क्वारेन्टिन सरोकारवालाको समन्वय बैठकमा सहभागीले विना जाँच कृषिजन्य वस्तुको आयात हुन थालेकाले सो नाकामा क्वारेन्टिन कार्यालय स्थापनाको माग गरेका हुन् ।
बैठकमा कार्यालयका बरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले प्लान्ट क्वारेन्टिन कार्यालयको मुख्य काम, कर्तव्य र अधिकारको विषयमा जानकारी दिएका थिए । उनले दोस्रो वा तेस्रो देशबाट कुनै पनि रोग कीराहरुको लक्षणहरु भएको, क्षतिग्रस्त र सडेगलेका विरुवा तथा विरुवाजन्य उपजहरु परीक्षण विना नेपाल प्रवेशमा अनुमति दिन नहुने बताए ।
उनले अबैध रुपमा विरुवा तथा विरुजान्य वस्तु नेपाल प्रवेश गर्न निषेध गर्नुपर्ने, लुकीछिपी ल्याइएका वस्तु नियन्त्रणमा लिएर रोग फैलिन नदिन नष्ट गर्नुपर्ने, कृषिजन्य वस्तु पैठारी हुँदा अनिवार्य रुपमा विरुवा स्वस्थताको प्रमाणपत्र हुनुपर्ने लगायतका बारेमा बताएका थिए ।
उनले हाल भद्रपुर, गौरीगञ्ज र इलामको पशुपति नाकाबाट आयात तथा निर्यात हुने सम्पूर्ण कृषिजन्य सामाग्रीको परीक्षण काँकरभिट्टा कार्यालयबाट भइरहेको बताए । उनका अनुसार चालु आर्थिक बर्षमा काँकरभिट्टा नाका बाहेक अन्यबाट कृषिजन्य वस्तुको आयात निर्यात शुन्य रहेको जानकारी दिए ।
कार्यक्रममा नेपाल उद्योग संघ झापाका अध्यक्ष यामबहादुर प्रधानले भद्रपुर नाकामा भन्सार भए तापनि क्वारेन्टिन कार्यालयको अभावमा विना चेकजाँच कृषिजन्य वस्तुहरु आयात भइरहेको बताउँदै तत्काल कार्यालय स्थापनाको माग गरेका छन् ।
कार्याक्रममा भद्रपुर भन्सारका प्रमुख रामेश्वरकुमार मिश्रले हालसम्म कृषिजन्य सामग्री यो नाका भएर नआएको बताए । उनले खुल्ला सीमानाको फाइदा उठाएर लुकीचोरी अबैध रुपमा नेपाल सामान भित्र्याउन नदिनका लागि सबै सरोकारवाला निकायलाई आग्रह गरे ।
कार्यक्रममा फलफूल तथा सब्जी व्यवसायी संघ भद्रपुरका अध्यक्ष सुनिलकुमार शाहले दैनिकजसो सयौ केजी कृषिजन्य वस्तु भद्रपुर नाका भएर नेपाल आयात भइरहेको बताए । उनले चेकजाँचका लागि काँकरभिट्टाको क्वारेन्टिन कार्यालयसम्म पुग्न टाढा हुने भएकाले व्यापारीहरुले परीक्षण विनै भारतीय कृषिजन्य वस्तु आयत गर्नुपर्ने बाध्यता रहेको बताए ।