Logo

भरतपुरवासीलाई खानेपानी नि:शुल्क



चितवन, ११ जेष्ठ । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकी छन् ।

महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु एक लाख बराबरको छोरी बिमा कार्यक्रमको निर्णय गरिएको छ ।

पहिलोपटक प्रमुख हुँदा उनले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरङ्ग सेवा टिकट निःशुल्कको निर्णय गरेकी थिइन् । दाहालले यो निर्णयले महानगरवासी लाभान्वित हुने बताइन् । महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले आजैदेखि निःशुल्क खानेपानी पाउने भएका छन् । यसका लागि वार्षिक रु दुई करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान छ ।

महानगरले आज गरेको दोस्रो निर्णयमा महानगरपालिकामा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि रु एक लाखको जीवन बिमा गरिने भएको छ । महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो वर्ष एक हजार ७५० जनाको बिमा हुने अनुमान छ । सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूले यो अवसर प्राप्त गर्नेछन् । राष्ट्रिय बिमा संस्थानमार्फत बिमा गर्न लागिएको हो । एक जनालाई वार्षिक रु तीन हजार ३०० महानगरपालिकाले १५ वर्षका लागि बुझाउने छ । पन्ध्र वर्षपछि ती छोरीले रु एक लाख पाउने गरी बिमा गर्न लागिएको हो । अर्यालका अनुसार आउँदो १५ वर्षमा २६ हजार २५० जनाले सुविधा लिने अनुमान गरिएको छ ।

पदभार ग्रहणसँगै दाहालले महानगरवासीले आफ्नो अघिल्लो कार्यकालका कामलाई अनुमोदन गरेको भन्दै पहिलो प्राथामिकतामा अधुरा काम रहेको बताइन् । उनले भन्नि, “भरतपुर महानगरपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने बनाउँछौँ ।” महानगरवासीलाई निरास हुन नदिने भन्दै उहाँले सबैको राय-सुझाव लिएर काम गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्