Logo

भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ: प्रधानमन्त्री



चितवन, २५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन् ।

भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गरेका हुन् ।

“भरतपुर शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका विविध क्षेत्रमा देशकै आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको छ”, प्रधानमन्त्री दाहालले भने, “स्वास्थ्य सेवाका साथै यस क्षेत्रमा आवादी, खेतीयोग्य जमिनको विस्तार एवं सहरीकरणका निम्ति गुणात्मक योगदान प्रगति गरेको छ ।”

उनेले केही दशक अगाडि घना जङ्गल र झाडीले भरिएको, जङ्गली जनावर र विषालु जीवजन्तुको प्रकोप रहेको परिस्थितिमा मानव स्वास्थ्यलाई दृष्टिगत गरी भरतपुर अस्पताल निर्माण भएको स्मरण गरेका थिए । यस क्षेत्रकै आमजनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपाल-अमेरिका संयुक्त कोषअन्तर्गत भरतपुर अस्पतालको कार्यप्रारम्भ भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले वर्तमानसम्म आइपुग्दा ४० लाख सेवाग्राहीलाई विशेषज्ञ सेवा प्रदान गरेको जानकारी पाउँदा आफूलाई खुसी महसुस भएको बताए ।

प्रतिक्रिया दिनुहोस्