भरतपुर, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर रहेको बताएका छन् ।
भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताएका हुन् ।
अध्यक्ष ओलीले भने, चितवन पर्यटनको प्रचुर सम्भावना भएको सहर हो । उनले यहाँको पर्यटनको प्रचुर सम्भावना देखेर नारायणी, कोसी हुँदै बङ्गालसम्म जोड्नका लागि आफूले जलमार्गको योजना अघि बढाएको स्पष्ट पारेका थिए । उनले त्यही योजनाअनुरुप अहिले निजी क्षेत्रले नारायणीलगायत नदीमा जलपर्यटनका पूर्वाधार निर्माण गरेको बताएका छन् ।
अध्यक्ष ओलीले चितवन पूर्व-पश्चिम र हुलाकी राजमार्गसँग जोडिएको जिल्ला भएकाले पनि यहाँको सम्भावना धेरै रहेको बताए । भरतपुरको विकासका लागि सभाहल, छ लेन सडक, हुलाकी सडकको काम आफू प्रधानमन्त्री हुँदा अघि बढाउन सहयोग पु¥याएको उनले बताएका हुन् ।







