काठमाडौँ, १९ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दल र राज्यका उच्च पदाधिकारीहरूबीच भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।
भष्ट्राचारविरुद्ध सांसदहरूको विश्वव्यापी सङ्गठन, नेपाल च्याप्टरद्वारा संसद् भवनमा आज आयोजित कार्यक्रममा तिमिल्सिनाले मुलुकको सुशासनको लागि भष्ट्राचार अन्त्य गर्नका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूसँग भष्ट्राचारविरुद्ध अन्तर्राष्ट्रिय अभियान र राष्ट्रिय कार्यदिशासम्बन्धी कार्यक्रममा उनले भने, “मुलकको सुशासन, देशको अर्थतन्त्र सुदृढ बनाउन, राष्ट्रिय गौरव आयोजना समयमा पूरा गर्न र राष्ट्रिय सहमति गर्ने वातावरण बनाउन जरुरी छ । सम्पूर्ण विषयलाई स्वतन्त्र छानविन गरी म, हामी जो परे पनि कारवाही गर्न तयार हुनुपर्छ ।”
सबै राजनीतिक दल, व्यक्ति, विभिन्न निकायका प्रतिबद्धताहरू कार्यान्वयन हुन नसकेको बताउँदै उनले हामी जे बौल्छौँ, त्यही गर्छौँ भने भष्ट्राचार सखाप हुने बताए ।







