Logo

भारतको केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्कने क्रम रोकिएन



काठमाण्डौ, १० फागुन ।  भारतको उडिसामा रहेको कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन् । गएको मङ्गलवारदेखि आजसम्म काँकरभिट्टा नाका हुँदै २० जना विद्यार्थी नेपाल फर्किएका जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार अझै पनि दैनिक एक–दुई जना फर्किरहेका छन् ।

नेपाली छात्रा प्रकृती लम्सालको मृत्युपछि कलेजले नेपाली विद्यार्थीहरुलाई होस्टलबाट निकालिदिएको थियो । पनि कलेजले माफी मागेर होस्टलमा फिर्ता बोलाएपनि विद्यार्थीहरु अझै विश्वस्त हुन नसकेका हुन् । विद्यार्थीहरु होस्टलमा फर्कने क्रम चलिरहेको भए पनि नेपाल आउने क्रम पनि चलिरहेको हो ।

यसैबीच केआइआइटी प्रक्ररणबारे परराष्ट्रमन्त्री डा. आरजु राणाले उडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । मन्त्री राणाले मुख्यमन्त्री माझीसँग प्रकेती लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गर्नुभएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरुलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन उडिसा सरकारले नै पहल गरिदिनका लागि राणाको आग्रह छ । मुख्यमन्त्री माझीले घटनालाई उडिसा राज्यले गम्भीर रूपमा लिएको र लम्साललाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर काम शुरु गरिएको जानकारी गराउनुभएको छ ।

साथै उहाँले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा पठनपाठनको व्यवस्थाका लागि उडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभएको छ । परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास र उडिसा सरकार, केआइआइटी प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर समन्वयका साथ काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्