काठमाडौँ, ३० भदौ । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना ‘अग्निपथ’ बारे चुनावपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ ।
बिहिवार नियमित प्रेस बिफ्रिङमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् ।
परराष्ट्रकी प्रवक्ता लम्सालले अग्निपथमा सहभागी हुने वा नहुनेबारे राष्ट्रिय सहमति पनि आवश्यक पर्ने भएकाले तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् । भारतको अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन खोजिएको छ । तर नेपालले यसबारे निर्णय गरेको छैन । अग्निपथ कार्यक्रमअन्तर्गत नेपाली युवाको सैनिक भर्तीमा सहयोग गर्न भारतले आग्रह गरे चुनाव अगाडि यो विषय थाँती राखिएको छ । नेपाल सरकारले सैनिक भर्तीका विषयमा राजनीतिक दलहरूबीच छलफल गरेर मात्र आफ्नो राय दिने जानकारी भारतीय पक्षलाई दिइसकेको छ ।







