काठमाडौँ, १२ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन् ।
आइतवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउएका हुन् ।
उनले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताएका हुन् । घिसिङले पछिल्लो ८५ दिनमा भारतमा बिजुली निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको बताए ।
उनले भने, ‘विद्युत् निर्यातलाई प्राथमिकता दिनुपर्छ । यो सरकारको ठूलो उपलब्धि हो । चालु आर्थिक वर्षमा नै हामी ‘नेट एक्सपोर्टर’ हुन्छौँ । यो वर्ष हामी भारतबाट जति बिजुली ल्याउँछौँ त्योभन्दा बढी बिजुली भारतमा निर्यात गर्नेछौँ । कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्छौँ । आउँदो जेठ, असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात गर्छौँ । अहिले हाम्रो विद्युत् खपत २५ प्रतिशतले बढेको छ, अर्को वर्ष पनि २५ प्रतिशतले बढ्छ ।’
घिसिङले अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट १२ भारतीय रुपैयाँ र औसतमा प्रतियुनिट दर ६ भारतीय रुपैयाँसम्म रहेको बताए । उनले पछिल्लो समय नेपालमा पनि विद्युतको माग अत्यधिक रहेको बताए । अहिले उत्पादन भएको १०० प्रतिशत विद्युत् खपत भइरहेको उनको भनाइ छ ।







