काठमाडौँ, ४ पुस । नेपाली सेनाले काठमाडौँ-निजगढ द्रुतमार्ग निर्माणका क्रममा प्रयोग हुने विस्फोटक पदार्थ भारतले उपलब्ध नगराउँदा काम प्रभावित भएको बताएको छ ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा नेपाली सेनाले भारतबाट विस्फोटक पदार्थ आपूर्ति नहुँदा फास्ट ट्र्याक निर्माणमा ढिलाइ भएको जानकारी दिएको हो ।
नेपाली सेनाको तर्फबाट संसदीय समितिमा फास्ट ट्र्याकको निर्माणकार्यबारे प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा प्राविधिक महासेनानी भरतलाल श्रेष्ठले जानकारी गराएका थिए । योजना तथा डिजाइन महाशाखा प्रमुखसमेत रहेका श्रेष्ठले भारतबाट माग भएअनुसार विस्फोटक पदार्थ आपूर्ति हुन नसकेको र चीनबाट पनि ढिलो गरी मात्रै विस्फोटक पदार्थ आपूर्ति भएको स्पष्ट पारेका थिए ।
भारतबाट विस्फोटक पदार्थको आयातको सुरुवात २०७९ भदौमा सुरुवात भएको र ५ महिनाभित्र आयात गरिसक्ने लक्ष्य राखिएकोमा २०८० पुससम्म पनि आपूर्ति हुन नसकेको श्रेष्ठले बताए । चीनबाट भने २०७९ माघबाट ५ महिनाभित्र आयात गरिसक्नुपर्ने विस्फोटक पदार्थ ६ महिनामा आइपुगेको उल्लेख गरेको छ ।
निर्माण कार्य ढिलाइ हुनुमा सेनाले विस्फोटक पदार्थ आयात हुन नसक्नु रहेको सेनाको अधिकारीले बताएका छन् । नेपाली सेनाले २०७४ मा द्रुतमार्ग निर्माण सुरु गरेको थियो । ६ वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएकोमा हालसम्म सेनाले २८.५६ प्रतिशत मात्र काम सम्पन्न गरेको जानकारी दिएको छ । आयोजनाको ३ वर्ष म्याद थपिएको छ । अब २०८३ चैत मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने नयाँ लक्ष्य लिइएको छ । सुस्त निर्माण कार्यले गर्दा थपिएको समयमा पनि काम सम्पन्न हुनेमा सांसदहरूले प्रश्न गरिरहेका छन् ।
पछिल्लो समय द्रुत मार्गसहित विभिन्न जलविद्युत् परियोजनामा समेत विस्फोटक पदार्थको माग बढिरहेको छ । नेपाली सेनाको मकवानपुर, सुनाचरीमा रहेको इमल्सन प्लान्टमा उत्पादन हुने विस्फोटक पदार्थले विभि माग धान्न सकेको छैन । सेनाले मागअनुसारको आपूर्ति गर्न नसकेपछि विकल्पमा व्यवसायीले भारतबाट विस्फोटक पदार्थ ल्याउने गरेका छन् । तर भारतले चिनियाँ कम्पनी संलग्न आयोजनालाई विस्फोटक पदार्थ ल्याउनमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) मा कडाइ गरेको छ ।







