काठमाडौँ, ५ चैत । भारतको पश्चिम उत्तरी राज्य पञ्जाबमा सिख पृथकतावादी आन्दोलन पुनः सुरु भएको छ । स्वतन्त्र सिख राज्यको माग गर्दै पञ्जावको ग्रामीण क्षेत्रमा प्रदर्शन भएको छ । प्रहरीले पृथकतावादी प्रदर्शनमा सहभागी भएको आरोपमा ७८ जनालाई पक्राउ गरेको छ भने प्रदर्शनको नेतृत्वकर्ता अमृतपाल सिंहको खोजी तीब्र बनाएको छ ।
खालिस्तान आन्दोलनले परिचत सिख आन्दोलन उग्ररुप लिएपछि राज्यको सम्पूर्ण शक्तिको प्रयोग गरी दमन गरिएको थियो । त्यही विद्रोहको झिल्को पुनः सुरु भएको छ । पञ्जाबमा अमृतपाल सिंहको नेतृत्वमा सिख आन्दोलन उठाउने प्रयास भएको छ । प्रदर्शनको नेतृत्व गर्ने सिख कट्टरपन्थीले प्रदर्शन भएको थियो । प्रहरीले सिंहको खोजीलाई तीव्र बनाएको छ । भारतीय सञ्चारमाध्यमले सिंह नेपालको बाटो हुँदै क्यानेडा जाने तयारीमा रहेको बताएका छन् । सिख समर्थक समूहले सिंह सुरक्षित स्थानमा रहेको प्रतिक्रिया दिएको जनाइएको छ ।
प्रहरीले गएको महिना अपहरणको प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको थियो । पृथकतावादी समूहले झुठ्ठा आरोपमा आफ्ना समर्थकलाई प्रहरीले पक्राउ गरेको बताएका थिए । पक्राउका विरुद्ध ३० वर्षीय अमृतपाल सिंहको नेतृत्वको समूहले तरबार, बन्दुक र चक्कुलगायतका घरेलु हतियारले प्रहरी चौकीमा आक्रमण गरेका थिए ।
अमृतसरको बाहिरी क्षेत्रमा भएको उक्त आक्रमणपछि प्रहरी झस्किएको हो । चौकीमा भएको त्यस आक्रमण पछि पञ्जाब प्रहरीले सिंह समूहको विरुद्ध कारबाही तीब्र बनाएको छ । उनका विरुद्ध खोजी अभियान चलाएको छ । यद्यपि, पक्राउ गर्न सकेको छैन ।
पञ्जाबका ग्रामीण क्षेत्रहरूमा सुरक्षाकर्मीहरूको ठूलो उपस्थिति छ । उनीहरूले राज्यको समग्र स्थिति नियन्त्रणमा रहेको बताउँदै सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न आग्रह गरेका छन् ।
पञ्जाबका ग्रामीण क्षेत्रमा पृथकतावादी प्रदर्शन भएपछि सरकारले मोबइल फोनमा इन्टरनेट सेवा बन्द गरेको छ । प्रहरीले शनिवारदेखि पृथकतावादीको खोजी अभियानमा तीब्र बनाएको छ । त्यस क्रममा ७८ जना पक्राउ परेका छन् ।
सोमबारदेखि मोबाइल इन्टरनेट पुनः सञ्चालन हुने अधिकारीहरूले बताएका छन् । गलत सूचना र अफवाह रोक्ने उद्देश्यले इन्टरनेट सेवा बन्द गरिएको उनीहरूले बताएका छन् । विशेष गरी अशान्त उत्तरी क्षेत्र काश्मिरमा बारम्बार इन्टरनेट सेवा अवरुद्ध हुँदै आएको छ ।
सन् १९७० ८० को दशकमा सिख पृथकतावादी समूहले पञ्जाबलाई स्वतन्त्र सिख राज्य बनाउनु पर्ने माग गरी शसस्त्र संघर्ष चलाएको थियो । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सिख बिद्रोहीको सिंसात्मक दमन गरेकी थिइन् । हजारौं सिखको हत्या भए पछि बिद्रोही सिख समुदाय शरणार्थीको रुपमा क्यानेडा र युरोप गएका थिए ।
खालिस्तान आन्दोलनको इतिहास
सिखहरुको पृथकतावादी आन्दोलनलाई खालिस्तान आन्दोलनका नामले चिनिन्छ । खालिस्तान आन्दोलन सिख पृथकतावादी आन्दोलन हो । जसको उद्देश्य सिखहरुको लागी एक अलग सार्वभौम राष्ट्र खालिस्तान (खालसे भूमि) को निर्माण गर्नु थियो । खालिस्तानको प्रस्तावित राष्ट्र पञ्जाब, हिमाचल प्रदेश, दिल्ली र चण्डीगढको वर्तमान भारतीय राज्यहरु शामिल थिए ।
एक अलग सिख राष्ट्रको माग भारतमा ब्रिटिस साम्राज्यको पतन पछि शुरू भएको थियो । सन् १९४० मा पहिलो पटक “खालिस्तान“ नामक पम्फलेट छरिएको थियो । सन् १९४७ पछि खालिस्तान आन्दोलन भारतीय पञ्जाब राज्यमा आप्रवासी सिखहरुको आर्थिक र राजनैतिक सहयोग र पाकिस्तानको समर्थनमा फस्टायो । र, सन् १९८० को दशकसम्म आन्दोलन चरम सीमामा पुग्यो । जगजीत सिंह चौहानका अनुसार सन् १९७१ को भारत पाकिस्तान युद्ध पछि पाकिस्तानी प्रधानमन्त्री जुल्फिकार अली भुट्टोले जगजित सिंह चौहानसँगको कुराकानीको क्रममा खालिस्तान बनाउन सहयोग गर्ने प्रस्ताव राखेका थिए ।
सन् १९८४ को दशकमा विद्रोह सुरु भयो, जो १९९५ सम्म चलेको थियो, यो चरमपन्थीलाई कुच्नको लागी, भारत सरकार र सेनाले अपरेशन ब्लू स्टार, अपरेशन वुड रोज, अपरेशन ब्ल्याक थन्डर र अपरेशन ब्ल्याक थन्डर २ सञ्चालन गरे । यी अप्रेसनका कारण चरमपन्थ धेरै हदसम्म समाप्त भए । तर, राज्यले हजारौं नागरिकको हत्या गर्यो । भारतीय सेनालाई मानव अधिकार उल्ल्घनको आरोप लगाइयो । प्रहरी र सेनाको डरलाग्दो कारबाहीले आन्दोलनका समर्थक निराश भए । १९९० सम्म आइपुग्दा आन्दोलन कमजोर हुन थाल्यो । र, खालिस्तान विद्रोह असफल भयो ।
केही भारतीय सिख र प्रवासी सिखहरु अझै पनि अपरेशन ब्लू स्टारमा नागरिक हताहतको बिरोधमा खालिस्तानको समर्थन गर्दछन् । सन् २०१८ को शुरुमा पञ्जाब पुलिसले केही आतंकवादीलाई पक्राउ गरेको थियो । खालिस्तान समर्थकलाई पाकिस्तानको इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) र अमेरिका, क्यानडा र बेलायतका “खालिस्तानी अलगाववादी“ द्वारा समर्थन गरिएको थियो ।
नब्बेको दशकमा सिथिल भएको खालिस्तान विद्रोहको झिल्को पुनः सुरु भएको छ । यसले कुन रुप लिन्छ यसै भन्न सक्ने अवस्था छैन । तर, भारतमा खालिस्तान विद्रोहको ज्वाला त्यति सजिलै ननिभ्ने विश्लेषकहरुको भनाइ छ ।