Logo

भारतमा गरिबी बन्यो मजाकः रेल धुने केमिकलले मजदुरको सेनेटाइज



भारतमा गरीबीलाई मजाकको रुपमा लिन थालिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण नियन्त्रण गर्न मार्च २६ तारिख (चैत १३ गते)बाट लागू हुने गरी तीन हप्ता लामो लकडाउन घोषणा गरे । लामो लकडाउन झेल्न नसक्ने लाखौँ सहरी मजदुर दिल्ली लगायतका सहरबाट पलायन भए ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीबाट मात्र तीस लाख भन्दा बढी मजदुर पलायन भएका छन् । दिल्लीबाट पलायन हुनेमा सबैभन्दा बढी बिहार र उत्तरप्रदेशका छन् । दिल्लीमा शुक्रवारबाट लाखौँ लाख मजदुर गाउँ फर्किन पैदल यात्रामा निस्किए । उनीहरु बिहारसम्म ११ सय किलोमिटरको यात्र गर्न निस्किए ।

उत्तरप्रदेश सरकारले भने केही सय बस पठाएपनि त्यो हात्तिका मुखमा जीरा जस्तो मात्र भयो । दिल्लीबाट फर्किएका मजदुरको एक समूहलाई उत्तरप्रदेशको बरेली बस स्टेण्डमा रेल, गाडी र घर सफा गर्न प्रयोग गरिने मेसिनबाट सेनेटाइज गरियो । नगर निगमका कर्मचारीले फायर मेसिनबाट मजदुरहरुलाई भेला पारी सेनटाइज गरे ।

महिला, केटाकेटीसहितको गरिब मजदुरको समूहलाई आइतवार कर्मचारीले सेनेटाइज गरेको भिडियो सर्वत्र आलोचना मात्र भएन भाइरल भएको छ । पानीमा सोडियम हाइपोक्लोराइड जस्तो केमिकल मिसिएको थियो ।

जुन केमिकल जमिन र घर सफा गर्न प्रयोग हुने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोडियम हाइपोक्लोराइडले मानिसको छाला र आँखाका लागि घातक हुने गर्दछ । उत्तर प्रदेश सरकारले भिडियो भाइरल भएपछि छानवीन गर्ने प्रतिक्रिया दिएको छ ।

मजदुरको पलायनमा सयौँ किलोमिटरको पैदल यात्राले कयौँको भोगका कारण मृत्यु भएको छ भने हिँड्दा हिँड्दै थाकेर सडकमा सुतेका मजदुरलाई गाडीले किच्दा मृत्यु भएको छ । सरकारले गरेको आकस्मिक लकडाउनले सहरी क्षेत्रका मजदुरको बिचल्ली भएको छ ।

पैदल फर्किएका मजदुरको भोगभोकै छन् । भारतका केही मिडिया, बुद्धिजिवी, पत्रकारले मोदी सरकारको तिखो आलोचना गरेका छन् । गरिबका लागि सरकार नभएको भन्दै मजदुरका पीडा सार्वजनिक भएको छ । कतिपय मिडियाले मोदी सरकारले गरिबीलाई मजाकमा उँडाएको भन्दै आलोचना गरेका छन् ।

भारतमा लगभग ४० करोड नागरिक गरिबीको रेखामुनी छन् । उनीहरुले दैनिक दुई छाक खाना पनि राम्ररी खान नसक्ने अवस्थामा छन् । सहरी क्षेत्रका मजदुर तिनै गरिबीका रेखामुनी भएकाहरु छन् । सरकारले त्यो गरिब वर्गका लागि कहिल्यै नसोचेको भन्दै आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्