भारत, ४ जेष्ठ । भारतमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । कैयौँ राज्यमा तापक्रम ४२ डिग्री सेल्सियल्स भन्दामाथि पुगेको रोयटर्सले जनाएको छ ।
मुम्बई, दिल्ली, केरला, वाराणसी, अमृतसर, अमदाबाद, बेङ्ग्लोर, कोलकाता लगायतका सहरको जनजीवन गर्मीले अस्तव्यस्त बनाएको छ । ठाउँ-ठाउँमा सडकको कालोपत्रे नै पग्लिएको र चराहरू मर्न थालेका खबरमा उल्लेख छ ।
बढ्दो गर्मीसँगै खानेपानीको अभाव हुँदा रेलले टाढा टाढाबाट पानी बोकेर माग पूरा गरिरहेका छन् । तातो हावाका कारण मानिसहरू घरबाहिर निस्कन मुस्किल परिरहेको छ । भारतले विभिन्न सहरमा गएको अप्रिल महिनामा एक शताब्दीयताकै उच्च गर्मी भएका रेकर्ड सङ्कलन गरेको छ ।
यसैबीच बढ्दो गर्मीका कारण भारतमा वातानुकूलित उपकरण अर्थात् एसी मेशिनको बिक्रीमा रेकर्ड बनेको खबरमा उल्लेख छ । दिल्लीको तापक्रम ४९ डिग्री सेल्यिल्ससम्म पुगेको र यो सिजनमा मात्रै ९० लाख एसी मेशिन बिक्री हुने अनुमान गरिएको उपभोक्ता इलेक्ट्रिक्स उपकरण निर्माता सङ्घले जनाएको छ ।
यसअघि सन् २०१९ मा सबैभन्दा धेरै ६५ लाख एसी मेशिन बिक्री भएका थिए । यो वर्ष अप्रिलको साटो मार्चको दोस्रो हप्तादेखि नै अत्यधिक गर्मी सुरु भएकाले एसी मेशिनको माग धान्न गाह्रो भइरहेको चीनको हायर कम्पनीका भारत प्रमुख एरिक ब्रागान्जाले बताएका छन् ।