भारत, १२ फागुन । भारत उत्तर प्रदेशको कासगञ्ज जिल्लामा तीर्थयात्री बोकेको ट्रयाक्टर पोखरीमा खस्दा २२ जनाको ज्यान गएको छ भने दुर्घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन् ।
उत्तर प्रदेशको जयथारा गाउँबाट गङ्गा नदीमा स्नान गर्न जाने तीर्थयात्री बोकेको ट्रयाक्टर गढाई गाउँ नजिकै पोखरीमा खसेको इन्डियन एक्सप्रेसले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका रहेका खबरमा उल्लेख छ ।
घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र पोखरीमा फसेकाहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।
तीव्र गतिमा रहेको ट्रयाक्टरको ट्रली इन्जिनबाट अलग भएर पोखरीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । प्रहरीले पनि दुर्घटनाको मुख्य कारण तीव्र गति नै रहेको उल्लेख गरेको छ ।