Logo

भारतमा नेपाली युवकद्वारा गर्भवती प्रेमिकाको हत्या, लगेजमा शव फालिएको अवस्थामा फेला



काठमाडौं, २५ जेठ । हैदराबादमा एक नेपाली युवकले आफ्नै गर्भवती प्रेमिकाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

भारतको इन्डिया टुडेको रिपोर्ट अनुसार ३० वर्षीय नेपाली नागरिक विजय टोप्पा (उर्फ विल्सन)ले आफूसँगै बस्दै आएकी प्रेमिका तारा बोहराको घाँटी थिची हत्या गरेका हुन् ।

प्रहरीका अनुसार तारा बोहरा ३३ वर्षीया विवाहित महिला हुन् र उनका दुई सन्तान पनि छन् । केही समयअघि फेसबुकमार्फत विजयसँग चिनजान भएपछि उनीहरूको सम्बन्ध गहिरिएको थियो ।

त्यसपछि तारा गत अप्रिल १५ मा हैदराबाद आएकी थिइन् र विजयसँगै भाडाको घरमा लिभिङ टुगेदर बस्न थालेकी थिइन् ।

तर, मे २३ मा तारा गर्भवती भएको खबरपछि उनीहरूबीच विवाद भएको थियो । सोही वेला विजयले नाइलन झोलाको डोरी प्रयोग गरी ताराको घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

हत्या पछिपछि उनले शवलाई लगेज ब्यागमा हालेर बाचुपल्लीस्थित सुनसान आवासीय क्षेत्रमा फालिदिएका थिए ।

जुन ४ तारिखमा एक स्थानीय चौकीदारले शंकास्पद लगेज देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि बाचुपल्ली क्षेत्रको सीसीटीभी फुटेज र प्राविधिक प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

पाँचवटा विशेष टोली परिचालन गरेर आरोपी विजयलाई अन्ततः मेडचल जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विजय हैदराबादस्थित एक रेष्टुरेन्टमा सेफका रूपमा कार्यरत थिए । प्रहरीका अनुसार, प्रारम्भिक बयानमा उनले आफ्नो दोष स्वीकार गरेका छन् ।

घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्