भारत, १६ साउन । भारतको हरियाणा राज्यको मेवातमा साम्प्रदायिक हिंसा फैलिएपछि राति राजधानी दिल्लीनजिकै रहेको गुरुग्राममा एक मस्जिदमा आगजनी भएको छ ।
गुरुग्राममा भएको घटनामा मस्जिदका एक इमामको ज्यान गएको र अरू केही मानिस घाइते भएका बीबीसी हिन्दीले जनाएको छ ।
यसबारे सुरक्षा निकायले केही जानकारी दिएको छैन । मेवातमा सोमबार एउटा धार्मिक यात्राका क्रममा दुई समूहबीच हिंसा भएको थियो । त्यहाँ पनि ठाउँठाउँमा आगजनीका घटनाहरू भएका छन् । कम्तीमा १२ जना घाइते भएका खबरमा उल्लेख छ ।
साम्प्रदायिक हिंसा फैलिएपछि मेवातमा धेरैको सङ्ख्यामा सुरक्षाकर्मीहरू खटाइएको छ । सरकारले बुधवारसम्म इन्टरनेट बन्द गरिदिएको छ ।







