Logo

भारतले आजदेखि नेपाललाई दिउँसो मात्र बिजुली दिने, लोडसेडिङबारे के भन्छ प्राधिकरण ?



काठमाडौँ, ३ चैत्र । भारतले आजदेखि नेपाललाई १२ घण्टा मात्रै विद्युत दिने भएको छ । २० घण्टा आयात हुँदै आएकामा भारतले अब सोलार आवर (बिहान ६ देखि बेलुका ६ बजेसम्म) मात्रै नेपाललाई विद्युत् बिक्री गर्ने भएको हो ।

भारतले नेपालमा विद्युत निर्यात गर्दा भएको सम्झौताको स्वीकृति दिँदा नै सोलार आवरमा मात्रै दिने सर्त राखेको थियो । उक्त सशर्तअनुसार भारतले २०२५ मार्च १५ तारिखदेखि जुन ३० सम्म सोलार आवरमा मात्रै नेपाललाई बिजुली दिने भएको हो ।

हाल पिक आवरमा दैनिक करिब १९० मेगावाट विद्युत आयात भइरहेको प्राधिरकणले बताएको छ । अब पिक आवरमा भारतबाट विद्युत आयात हुनेछैन ।

नेपालमा अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेकाले हिउँदमा विद्युत उत्पादन करिब एक तिहाइमा सीमित हुन्छ। त्यसैले प्राधिकरणले हिउँद सुरु हुनासाथ भारतबाट आयात गरेर बिजुली आपूर्ति गर्दै आएको छ। तर, भारतले पनि घाम लाग्ने समयमा मात्रै विद्युत् दिने भएपछि नेपालमा फेरि लोडसेडिङको जोखिम बढेको हो ।

हाल पिक समयमा करिब १ हजार ९०० मेगावाट बिजुलीको माग रहेको छ । तर, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका आयोजनाबाट करिब १३ सय मेगावाट मात्र उत्पादन हुने गरेको छ। यसअघि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पिकआवरमा बिहार र उत्तराखण्डबाट १३२ केभी प्रसारण लाइन हुँदै अपराह्न ४ बजेदेखि राति ९ बजेसम्म १०० मेगावाट बिजुली ल्याउन सकिने गरी सहमतिको तयारी पनि गरेका थिए, त्यसका लागि नेपाल-भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा बिजुलीको भाउ १.५ प्रतिशत बढाउन भनेका थिए । तर, सरकारले उनलाई स्पष्टीकरण सोधेपछि यो प्रक्रिया अघि बढ्न सकेन ।

हाल प्राधिकरण उचित र प्रभावकारी व्यवस्थापनमार्फत लोडसेडिङको अवस्था आउन नदिइने पक्षमा लागिरहेको छ । तर, सर्वसाधारणलाई बिजुली दिन प्राधिकरण सक्षम रहेपनि उद्योगहरुमा भने कटौती हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्