नेपालगन्ज, २० कात्तिक । भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम क्षेत्र पठाइने भएको छ । नेपालगन्ज विमानस्थल हुँदै ११ टन सामग्री उक्त क्षेत्र पठाइन सुरु गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार आइतबार भारतीय वायु सेनाको विमानबाट नेपालगन्ज ल्याइएको ११ टन राहत सामाग्रीसहित यहाँ रहेका अन्य राहत सामग्रीलाई दुई ट्रकमा भरेर पठाइएको छ ।
उनले एक ट्रक सामाग्री जाजरकोट र एक ट्रक सामाग्री रुकुम पश्चिमका लागि पठाइएको जनाउँदै सोमवार नै थप दुई ट्रक सामाग्री अरू पनि पठाइने बताए । थप सामाग्री ट्रकमा लोड गर्ने कार्य भइरहेको पनि प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । उनले विभिन्न सङ्घसंस्था लगायत निकायहरूबाट प्राप्त र सरकारी राहत सामाग्री पनि प्रभावित जिल्लामा पठाउन थालिएको बताए ।
सोमवार भारतले पठाएको सामाग्रीहरूमा प्लास्टिक त्रिपाल ६२५ थान, स्लिपिङ ब्याग १००० थान, ब्ल्यांकेट १००० थान, टेन्ट ठुलो खालको ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट र औषधि तथा अन्य सामग्री ४८ प्रकारका रहेको थियो ।
सो सामाग्रीलाई नेपालगन्ज विमानस्थलमा भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खडकालाई हस्तान्तरण गरेका थिए ।
राहत सामाग्री बोकेर आइतबार नेपालगन्ज विमानस्थलमा भारतीय वायुसेनाको विमान अवतरण गरेको थियो भने सोमवार पनि सो विमानले थप राहत सामाग्री लिएर नेपालगन्ज आउने भारतीय राजदूतावासले जनाएको छ ।
उद्धार कार्य अन्तिम चरणमा पुगेकोले अब प्रभावित जिल्लाका विभिन्न ठाउँमा प्रभावितलाई बस्ने त्रिपाल, ओढ्ने र ओछ्याउने बिस्तरा लगायत खो कुराको बढी आवश्यकता देखिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी भीम प्रसाद ढकालले बताए ।







