काठमाडौँ, १९ असार । भारत सरकारले नेपाललाई अनुदान सहायतास्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ ।
आइतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालमा रहेको भारतीय राजदूतावासले विभिन्न सङ्घ-संस्थालाई ७५ वटा एम्बुलेन्स र विभिन्न विद्यालयलाई १७ वटा बस उपहार दिएको हो ।
नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ ।
एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए । श्रीवास्तवले बस र एम्बुलेन्स प्रदान गरिएका विभिन्न संस्थालाई चाबी प्रदान गरेका थिए । यो सहयोग भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने उल्लेख गरेका थिए ।







