काठमाडौं, ३ चैत । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज) ले भारतले नेपाल हिन्दुराष्ट्र भएको देख्न चाहेको बताउनुभएको छ । उहाले प्रधानमन्त्री नरेन्द्र मोदी सँधै हिन्दुराष्ट्रका पक्षमा रहेको पनि औंल्याउनु भयो ।
‘एक अभिभावकका रुपमा राजसंस्था चाहिन्छ । नेपालका नेताहरुले पनि वाध्य भएर गणतन्त्र रोज्नुभएको हो । उहाँहरुले म सँगको कुराकानीमा वाध्यताले राजसंस्था हटाउनुपरेको बताइरहनु भएको छ । हामीले पहिल्यैदेखि देवी देउता, देउराली, ढुंगा, आकाश–पाताल, पृथ्वी, कुल मान्दै आएका हौं । त्यसैले राजसंस्थाको अलग्गै महत्व छ,’ उहाले भन्नुभयो,‘राजसंस्था र हिन्दुराष्ट्र परिपूरक पनि हुन् ।’
हालै काठमाडौंमा भएको राजावादीहरुको प्रदर्शनमा योगी आदित्यनाथको तस्विर सार्वजनिक भएको विषयमा बोल्दै उहाले भन्नुभयो, ‘गोरक्षपीठाधीश्वर योगी आदित्यनाथ राजा ज्ञानेन्द्रलाई श्री ५ वडामहाराजधिराज भनेर सम्बोधन गर्नुहुन्छ । राजसंस्था कायम होस भन्ने चाहनुहुन्छ ।’
राजावादीको विरोधमा देशका उच्च पदको जिम्मेवारीमा बसेको नेताहरुले अपशब्द प्रयोग गरेर गाली गरेको भन्दै उहाले आपत्ति पनि जनाउनुभयो ।
उहाले देश नै उत्तेजित भएको अवस्थामा उच्च पदको जिम्मेवारीमा बसेको नेताहरुले अपशब्द प्रयोग गरेर गाली गरेर जलेको आगोमा पेट्रोल छर्ने काम गरेको बताउनुभयो ।
विदेशमा गएर पसिना बगाएका युवाहरुले पठाएको रेमिटेन्सबाट नेताहरुले आफ्नो स्वार्थसिद्धि गरेको उहाले आरोप लगाउनुभयो । उहाले जलस्रोत,खनिज पदार्थ, जडिबुटीको धनी र स्वाभिमान नेपालीहरुका नेपाल आज धरधरी रोइराखेको बताउनुभयो ।
त्यस्तै उहाले विगत केही समयदेखि नेपालमा हर तरहका संकटहरु आइराखेको बताउनुभयो । मुलुक रहने हो या डुब्ने हो भन्ने अवस्थामा आज नेपाल पुगेको उहाको भनाई छ ।