Logo

भारतले पठाएको चन्द्रयान-३ चन्द्रमामा सफलतापूर्वक अवतरण



भारत, ६ भदौ । भारतले पठाएको चन्द्रयान-३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ ।

भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान-३ चन्द्रमामा अवतरण भएको हो ।

योसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ । यसअघि भारतको चन्द्रयान-३ भन्दा केही दिनअघि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा रहेको रुसको यान लुना-२५ दुर्घटनामा परेपछि भारत पहिलो भएको हो । अमेरिका, रुस र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक यान अवतरण गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका छैनन् ।

चन्द्रयान-३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो । जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् ।

गएको जुलाई १४ तारिखमा भारतीय समयअनुसार दिउँसो २ बजेर ३५ मिनेटमा हरिकोटाबाट उडान भरेको चन्द्रयान-३, ४० दिनको लामो यात्रा पूरा गरेर चन्द्रमासम्म पुगेको हो ।

चार वर्षअघि चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान-३ बनाएको हो । सन् २००८ मा भारतले पठाएको पहिलो चन्द्र ‘मिसन’ चन्द्रयान-१ ले चन्द्रमाको सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्