भारत, ३ कात्तिक । आईसीसी विश्व कप क्रिकेटमा भारतले बङ्लादेशलाई ७ विकेटले हराएको छ । गएराति पुनेमा भएको खेलमा भारतले बङ्लादेशलाई हराएको हो ।
बङ्लादेशले दिएको २ सय ५७ रनको लक्ष्य भारतले ४१ ओभर ३ बलमै मात्र ३ विकेट गुमाएर भेट्टायो । भारतका लागि विराट कोहलीले १ सय ३ रनको शतकीय पारी खेलेका थिए ।
यस्तै, सुभमन गिलले ५३ रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहित शर्माले ४८ रन बनाए । त्यसैगरी, केएल राहुल ३४ र श्रेयस ऐरले १९ रनको योगदान गरेका हुन् ।
बङ्लादेशका मेहदी हसन मेराजले २ तथा हसन महमुदले १ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको बङ्लादेशले ८ विकेटको क्षतिमा २ सय ५६ रन बनाएको थियो । बङ्लादेशका लागि लिटोन दास र तान्जिद हसनले अर्धशतकीय पारी खेले । लिटोनले ६६ र तान्जिदले ५१ रनको योगदान गरेका थिए ।
यस्तै, महमुदुल्लाहले ४६ र मुश्फिकुर रहिमले ३८ रनको योगदान गरे । भारतका जसप्रित बुम्राहा, मोहमद सिराज र रबिन्द जडेजाले २-२ विकेट लिए भने सार्दुल ठाकुर र कुलदीप यादवले एक-एक विकेट लिएका थिए ।