
नेपालमाथि ज्यादती भएको छ । नेपाललाई दुखेको छ । आगाले पोलेको ठाउँमा नुन नछर्किएको उचित होला, काटेको ठाउँमा चुक नलगाऊँ, मलम लाउने बेला हो यो । एक पुस्ता, दुइ पुस्ता, तीन पुस्ता अथवा चारै पुस्ता अघि मेरो पुर्खा भारतमा आफीसर भएर आएको हैन । हामीले आज सम्म हम तो भारतीय हैं भनेर बारम्बार सफाई दिनु परिराखेको छ । म मोदी सरकारको नेपाल विषयलाई छोडेर समर्थक हुँ ।
यो संसारमा भारतले मात्र नेपाललाई पालेको हैन, सीमानाका दुइतिर नेपालको जनसंख्या भन्दा धेरै भारतीय दोकानेहरूलाई कसले खान दिएको हो ? नेपाली ग्राहक नआउनु हो भने के खान्छन् तिनीहरूले ? भारतले मात्र नेपाललाई पालेको हैन, नेपालले पनि भारतलाई पालेको छ ।
उनीहरूलाई पनि आत्मनिर्भर हुने रहर छ । दस ट्रक अदुवा उमारे भने मेचीबाट यता ल्याउन नदिने देश यही हो । दुइ ढुङ्गाबीचको तरुलको अवस्था भारतीय भएर र भारतीय मिडियाको खबर सुनेर बुझ्न सकिन्न । धेरै घाउ छन् बिर्सिन नसक्ने । गरिबलाई गाली गर्न सजिलो हुन्छ ।
भारतीय मिडियाले नेपालको सीमा सम्बन्धी विषयलाई चीनले उक्साएर यस्तो भन्ने आँट गर्यो भने। भारतीय मिडियामा निष्पक्षता थिएन, नेपालप्रति दुराग्रह थियो । हामी भारतीय नेपालीभाषी समुदायले नेपाल विषयमा नाना थरी नबोलेकै असल हो ।
नेपाललाई कमज़ोर देखाउँदा हाम्रो भारतीय बाउ एक छिन खुसी होला तर मेरो माइती र मावली सधैं दुखी हुन्छन् अनि बाउले खुसी भएर हामीलाई केही दिने पनि हैन । सीमा विवाद दुइ देशका नाइकेहरूले मिलाउने हो, हामीले किन रगतको साइनु बिगार्नु ? सीमा विवाद, महामारी र युद्ध सामान्य सहज अवस्था हैन, असहज़ अवस्था हो ।
कसैले केही भनिहाले पनि सीरियसली लिनु हुँदैन । मौका पर्दा छोटे भाई भन्नु अनि छोटे भाई कुछ बोलता है तो बर्दाश्त करो न काहे गाली देते होरु छोटे भाई भन्नु नै उसको सार्वभौमलाई अस्वीकार गर्नु हो । साइनु सम्बन्धदेखि माथि हुन्छ सार्वभौम । छिमेकीको सार्वभौमलाई स्वीकार गरौं, सम्मान गरौं ।
(भारतको सिक्कम बसोबास गर्नु हुने कनकधारा स्वामी स्वदेशानन्द अध्यात्मिक अध्ययता हुनुहुन्छ, उहाँको सामाजिक सञ्जालबाट यो सामग्री लिइएको हो ।)