काठमाण्डौ, १६ माघ । भारतसँगको तेस्रो टी–२० क्रिकेटमा पाहुना टोली इंग्ल्याण्ड २६ रनले विजयी भएको छ । राजकोटमा जीतका लागि एक सय ७२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो ।
भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ४० रन जोडे । इंग्ल्याण्डका जेमी ओभरटर्नले ३, बायडेन कार्स र जोफ्रा आर्चरले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । उसका बेन डकेटले सर्वाधिक ५१ रन बनाए । लियम लिभिङ्स्टोनले ४३ रन जोडे । भारतका वरुण चक्रवर्तीले ५ विकेट लिए ।
जीतसँगै पाँच खेलको शृङ्खला २–१ भएको छ । भारतले पहिलो खेल ७ र दोस्रो खेल २ विकेटले जितेको थियो । चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।