काठमाडौं, १९ साउन । भारतसँगको पाँचौं तथा अन्तिम टेस्ट खेलमा इङ्ग्ल्यान्ड जीत नजिक पुगेको छ । केनिङटन ओभल मैदानमा चलिरहेको खेलमा पाँचौ तथा अन्तिम दिनमा इङ्ग्ल्यान्डलाई अब जीतका लागि ३५ रन आवश्यक छ । इङ्ग्ल्यान्डसँग चार विकेट बाँकी छ । भारतले पहिलो पारीमा दुई सय २४ रन र दोश्रो पारीमा तीन सय ९६ रन बनाएको थियो ।
इङ्ग्ल्यान्डले पहिलो पारीमा दुई सय ४७ रन र दोश्रो पारीमा छ विकेट गुमाएर तीन सय ३८ रन बनाएर खेलिरहेको छ । इङ्ग्ल्यान्डलाई सहज अवस्थामा ल्याउन इङ्ग्ल्यान्डका ह्यारी ब्रुक र जो रुटले शतकीय पारी खेले । ब्रुकले एक सय ११ र रुटले एक सय पाँच रन बनाए ।
यो निर्णायक खेल हो । शृङ्खलामा इङ्ग्ल्यान्ड २–१ ले अघि छ । इङ्गयान्डका कप्तान तथा अलराउण्डर बेन स्टोक्स काँधको चोटका कारण बाहिरिएपछि ओली पोपले टोलीको नेतृत्व सम्हाल्नेछन् । यसअघि भारतले ओभलमा १५ टेस्टमध्ये दुईमा मात्र जीत हासिल गरेको छ ।