काठमाडौँ, २० मंसिर । नेकपा एमालेका नेता राजन भट्टराईले दार्चुलास्थित महाकाली नदी किनारमा जारी भारतीय तटबन्ध निर्माण तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।
भारतले नदीको धार परिवर्तनगरी तटबन्ध बनाउन थालेपछि स्थानीय नेपालीले विरोध गर्दा दुई पक्षबीच ढुंगा हानाहानसमेत भएको थियो ।
‘भारतले महाकालीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा सरकार मौन किन?’ भन्दै उनले प्रश्न गरेका छन । एमालेका स्थायी कमिटी सदस्य भट्टराईले भारतले महाकाली किनारमा जारी राखेको तटबन्ध निर्माण तत्काल रोकी दुई पक्षीय वार्ता गर्न केन्द्रीय सरकारलाई अनुरोध गरेका छन् ।
‘महाकाली नदी सीमा नदी हो । सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रूपमा बनाउन मिल्दैन’, भट्टराईले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नदीको धार नै परिवर्तन हुनेगरि महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस् । यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ ।’







