काठमाडौँ, ८ फागुन । भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ ।
आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गरेका हुन् ।
राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताए । उनले उपलब्ध डायलासिस मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
मन्त्री गिरीले भारत सरकारबाट उपलब्ध भएको सहयोगप्रति आभार प्रकट गरेका हुन् ।
दूतावासले दुई सय थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको हो । बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ । उपलब्ध उपकरणलाई आवश्यकताअनुसार विभिन्न अस्पतालमा वितरण गरिने मन्त्रालयकी सचिव देविकुमारी गुरागाईंले जानकारी दिइन् ।