Logo

भारतीय दूतावासले सिधै २० करोड खर्च गर्न पाउने सम्झौता राष्ट्रघात: बर्तौला



काठमाडौँ,  २५  पुस नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको आरोप लागाएका छन् ।

बुधबार सिंहदरबामा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको जिकिर गरेका छन् ।

उनले यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको बताए । उनले सम्झौताले स्वाभिमानको जरा काट्ने काम भएको बताएका हुन् । उनले भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपि सांसदहरुले पाउनुपर्ने बताए ।

उनले भने, ‘भारतसँग ५ करोडको जे कार्यान्वयनको प्रक्रिया थियो, त्यो प्रक्रियाका सम्बन्धमा नेपालमा अरु पार्टीका पनि सरकार थिए भन्ने संकेत गर्नुभएको छ । कतिपय कमजोरी बीचमा भएका भएपनि अहिलेको सरकारले सच्याएर नयाँ ढंगबाट जाने हो, कमजोरीलाई सिरानी हालेर अर्को कमजोरी गर्न मिल्छ? नेपालको संविधानको धारा ५ बमोजिमको अहिलेको सम्झौता हो? नेपालको स्वाधीनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानलाई जोगाउने गरी यो सम्झौता भएको छ? यो कुरा ठोकुवाका साथ भन्न सक्नुहुन्छ? सम्झौतप्रति तपाई गर्व गर्दै हुनुहुन्छ तर यो सम्झौताले देशको राष्ट्रघात भएको छ । स्वाभिमानको जरा काट्ने काम भएको छ ।’

प्रतिक्रिया दिनुहोस्