काठमाडौँ, २२ पुस । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतीय राजदूतावासले नेपालमा सीधै २० करोड रुपैयाँ पैसा खर्च गर्न पाउने कुरा खेदजनक भएको बताएका छन् ।
उनले सरकारले गरेको त्यस्तो सम्झौता कार्यान्वयन हुन नहुने र एमालेले नमान्ने धारणा राखेका हुन् ।
आइतबार काठमाडौँमा राष्ट्रिय अपाङ्गता संगठन नेपालले गरेको सेतो छडी वितरण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले कुनैपनि देशले सरकारी बजेटअन्तर्गत् नभई सीधा जनतामा पैसा वितरण गर्ने कुरा षड्यन्त्रपूर्ण भएको बताएका हुन् ।
‘प्रधानमन्त्री छिमेकी मुलुकमा भ्रमण गर्न जाँदा आफ्नो भूमि फिर्ता ल्याउने विषयमा एक शब्द बोल्न सक्नुहुन्नँ । हाम्रो अतिक्रमित भूमि फिर्ता दिनुपर्छ भन्ने कुरामा कुटनीतिक पहल र प्रयत्न भएको छैन,’ पोखरेलले अघि भने, ‘तर अहिले भारतीय राजदूतावासले २० करोड रुपैयाँसम्म सीधै समुदायमा खर्च गर्न मिल्ने गरी सम्झौता भएको कुरा आइरहेको छ । यो खेदजनक छ, हामीलाई स्वीकार्य छैन ।’
उनले कुनैपनि मुलुकको दूतावासले नेपालभित्र आएर पैसा बितरण गर्ने र आफ्ना मान्छे बनाउने योजनाको डरलाग्दा षड्यन्त्रमा नेपालीहरु फस्न नहुने बताए ।
‘यस्तो सम्झौता राष्ट्रियहीत विपरीत हुन्छ । यो राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतामा आँच पुग्ने कुरा हो । भारतको मात्रै कुरा होइन, कुनैपनि देशले सहयोग गर्छ भने स्वागत गर्दछौँ । तर त्यो सहयोग देशको बजेटअन्तर्गत् वितरण गर्नुपर्छ,’ उनले भने ।







