काठमाडौं, १ भाद्र । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौं आउँदैछन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल बसाइको क्रममा मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायत उच्च नेतृत्वसँग शिष्टाचार भेट गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको बताइएको छ ।
मिश्री सोमबार स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।