काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भारतीय समकक्षीसँग सीमाको विषय पहिलोपटक राखिएको दाबी गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीमासम्बन्धी समस्या राखेको पहिलोपटक भएको दाबी गरेका हुन् ।
‘मैले प्रष्टसँग यी समस्यालाई हामीले समाधान गर्नैपर्छ। जबसम्म सीमासम्बनधी समस्याको दीर्घकालीन समस्या समाधान गरिँदैन नेपाल भारत सम्बन्ध सहज हुन सक्दैन भनेर मैले भारतीय प्रधानमन्त्रीसँग मैले प्रष्टसँग राखेँ । यति प्रष्टसँग सीमानाको समस्या हल गर्नुपर्छ भनेर खुलस्त राखिएको यो पहिलोपटक नै हो । भारतीय प्रधानमन्त्रीले सीमा समस्या हल गरिन्छ र नेपाल भारत सम्बन्ध हिमालको उचाइमा पुर्यान्छ भनेर बोलेको पनि पहिलोपटक हो,’ उनले भने ।







