Logo

भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्यूजिल्यान्ड ९६ रनले पराजित



काठमाडौं, २५ फागुन । आईसीसी टी–२० विश्वकप २०२६ को फाइनलमा भारतले न्यूजिल्यान्डलाई ९६ रनले पराजित गर्दै उपाधि जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको हो।

पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनायो। भारतका सञ्जु सामसनले ८९ रन, इशान किशनले ५४ रन र अभिषेक शर्माले ५२ रनको महत्वपूर्ण पारी खेले। अन्तिमतिर शिवम दुबेले पनि आक्रामक ब्याटिङ गर्दै टोलीको स्कोर २५५ रनसम्म पुर्‍याए।

२५६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको न्यूजिल्यान्ड १९ ओभरमा १५९ रनमै अलआउट भयो। न्यूजिल्यान्डका टिम सिफर्टले ५२ रन र कप्तान मिचेल स्यान्टनरले ४३ रन बनाए पनि टोलीलाई हारबाट बचाउन सकेनन्।

भारतका जसप्रीत बुमराहले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने अक्षर पटेलले ३ विकेट लिए। उत्कृष्ट प्रदर्शनका लागि जसप्रीत बुमराह ‘प्लेयर अफ द म्याच’ घोषित भए भने प्रतियोगिताभर उत्कृष्ट खेल देखाएका सञ्जु सामसन ‘प्लेयर अफ द टूर्नामेन्ट’ बने।

यस जितसँगै भारतले सन् २००७, २०२४ र २०२६ मा गरी तीन पटक टी–२० विश्वकप जित्दै नयाँ कीर्तिमान बनाएको छ। साथै भारत लगातार दोस्रो पटक टी–२० विश्वकप जित्ने टोलीसमेत बनेको छ।

प्रतिक्रिया दिनुहोस्