Logo

भारत निर्यात हुन थाल्यो बिजुली



काठमाडौँ, १९ जेठ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार अहिले बिजुलीको कुल माग (पिक डिमान्ड) एक हजार ६ सय ४३ मेगावाट छ । यो माग बेलुकी र बिहानको समयको हो ।

दिनभर र रातभर यो परिमाणमा माग हुँदैन । माग घट्दै जाँदा उत्पादित बिजुली खेर जान्छ । त्यही समस्याको समाधानका लागि प्राधिकरणले देशभित्र बढी भएको बिजुली भारत निर्यात गर्न थालेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बुधवार मध्यरातदेखि नुवाकोटमा आयोजनास्थल रहेका दुई जलविद्युत् आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात भएका छन् । गएको वर्षको कात्तिकदेखि पनि ती आयोजनाको बिजुली भारत निर्यात भएका थिए ।

नेपालका नदीहरूमा अहिले जलसतह उल्लेख्यरूपमा बढेको छ । समयमै वर्षा भएका कारण नदीमा जलसतह उल्लेख्यरूपमा बढेको हो ।

प्राधिकरणका अनुसार कुल २४ मेगावाट क्षमताको त्रिशूली र १५ मेगावाट क्षमताको देवीघाट विद्युत् गृहको बिजुली हिजो (बुधवार मध्यरात) देखि भारतीय बजारमा निर्यात गर्न थालिएको प्राधिकरणले जनाएको छ । केही दिनपछि थप बिजुलीसमेत भारत निर्यात हुनेछ ।

अहिले नेपालको कुल जडित क्षमता दुई हजार तीन सय मेगावाटको हाराहारीमा पुगेको छ । चालु आवको अन्त्यसम्म थप केही आयोजनाले बिजुली उत्पादन गर्न थाल्नेछन् ।

मागभन्दा बढी बिजुली उत्पादन भएपछि त्यसलाई खेर फाल्नुभन्दा निर्यात गर्नु उपयुक्त हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटमा तय हुने ब्लकका आधारमा नेपालले बिजुली निर्यात एवम् बिक्रीका लागि राखेको छ । मागअनुसार प्रत्येक ब्लकको मूल्य पनि फरक-फरक हुन जान्छ ।

भारतमा अत्यधिक गर्मी बढेकाले पनि बिजुलीको माग धेरै छ । विवरणहरूमा जनाइएअनुसार अधिकतम प्रतियुनिट १२ भारु (१९ रुपैयाँ २० पैसा) मा बिजुली खरिद बिक्री गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ ।

केही समय पहिले भारतको ऊर्जा एक्सचेन्ज बजारमा बिजुलीको मूल्य अत्यधिक मात्रामा वृद्धि भएपछि विद्युत् नियमन गर्ने संस्थाले प्रतियुनिट १२ भारुभन्दा माथि बिक्री गर्न नपाउने गरी हस्तक्षेप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्