काठमाडौं, २७ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो दाबी गरेका हुन् ।
ट्रम्पले भनेका छन्, ‘अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफल पछि, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले तुरुन्तै र पूर्ण रूपमा आक्रमणहरू रोक्न सहमत भएका छन् । म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु ।
भारत–पाकिस्तान युद्धविराम गर्न सहमत भएको पाकिस्तानी विदेशमन्त्रीद्वारा पुष्टि
पाकिस्तानका विदेशमन्त्री इशाक दारले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको पुष्टि गरेका छन् ।
दारले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छन् । पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ !’