काठमाडौं, २४ माघ । विश्व क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। २० राष्ट्र सहभागी यस प्रतियोगितामा कुल ५५ खेल खेलिनेछन्।
भारतका अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम, कोलकाताको इडेन गार्डेन, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नईको एमए चिदम्बरम स्टेडियममा खेल सञ्चालन हुनेछन्। यस्तै, श्रीलंकाको कोलोम्बोस्थित आर. प्रेमादासा स्टेडियम, एसएससी क्रिकेट मैदान र क्यान्डीको पाल्लेकेले स्टेडियममा पनि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुने तालिका छ। उद्घाटन खेल श्रीलंकाको कोलोम्बोस्थित एसएससी मैदानमा पाकिस्तान र नेदरल्यान्ड्सबीच बिहान सवा ११ बजे सुरु हुनेछ। भारतमा भने समूह ‘सी’ अन्तर्गत स्कटल्यान्ड र वेस्ट इण्डिजबीच दिउँसो सवा ३ बजे कोलकाताको इडेन गार्डेनमा प्रतिस्पर्धा हुनेछ। पहिलो दिनको अन्तिम खेलमा साविक विजेता भारतले राति सवा ७ बजे मुम्बईको वानखेडे स्टेडियममा अमेरिकासँग खेल्दै आफ्नो अभियान सुरु गर्नेछ।
नेपाल रहेको समूह ‘सी’ मा वेस्ट इण्डिज र स्कटल्यान्ड पनि रहेका छन्। नेपालले समूह चरणका आफ्ना चारै खेल मुम्बईको वानखेडे स्टेडियममा खेल्नेछ। नेपालले आइतबार दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्ने तालिका छ।
२० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह चरणपछि शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउनेछन्। सुपर ८ का खेल फेब्रुअरी २२ देखि सुरु हुनेछ भने सेमिफाइनल मार्च ४ र ५ मा हुनेछन्। फाइनल खेल मार्च ८ मा हुने तय गरिएको छ।
विश्वकपसँगै क्रिकेट प्रेमीहरूमा उत्साह बढेको छ भने सहभागी राष्ट्रहरू उपाधि लक्ष्यसहित मैदानमा उत्रिएका छन्






