काठमाडौं, १३ कार्तिक । देशका हिमाली तथा पहाडी भू–भागमा आगामी कार्तिक १२ देखि १५ गतेसम्म भारी वर्षा र हिमपात हुने पूर्वानुमानसँगै गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, सुदूरपश्चिम, कर्णाली र बागमतीका उच्च भू–भागमा हिमपात र वर्षाको सम्भावना छ। प्राधिकरणले कृषि, यातायात, पर्यटन र हवाई क्षेत्र प्रभावित हुन सक्ने भन्दै सम्बन्धित निकायलाई पूर्वतयारीसहित सर्तक रहन निर्देशन दिएको छ।
अनावश्यक यात्रा नगर्न, जोखिमयुक्त स्थानमा नजान, स्थानीय प्रशासन र सुरक्षासँग समन्वय गरी सुरक्षित स्थानमा बस्न, राहत तथा उद्धार टोली तयारी अवस्थामा राख्न प्राधिकरणले आग्रह गरेको छ।
प्रवक्ता शान्ति महतका अनुसार देशभरको मौसमीय स्थिति निरन्तर अनुगमन भइरहेको र सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय तह र सुरक्षासंस्थाहरू तयारी अवस्थामा रहन भनिएको छ।






