काठमाडौं, २४ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले भिजिओल फ्लाइट रूट (भिएफआर) ले अनुमति नदिएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा दुर्घटना भएको बताएको छ ।
प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी क्याप्टेनकै कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनुभएको हो । सिभिल एभिएसनको भिजिओल फ्लाइट रूटले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको उहाँले बताउनुभयो । महानिर्देशक अधिकारीले भीएफआरको अनुमतिविपरीत हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको उहाँको दलिल थियो ।
विस्तृत वितरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने उहाँको भनाइ छ । हिजो नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा भएको उक्त दुर्घटनामा चार चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो ।