Logo

भिजिट भिसा प्रकरणमा थप ६ कर्मचारी गृह मन्त्रालय तानिए (सूचीसहित)



काठमाडौं, ९ जेठ । भिजिट भिसामा बदमासी गरेको प्रकरणमा गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका थप ६ कर्मचारीलाई तानेको छ ।

यसअघि कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईसहित ९ कर्मचारीलाई तानेको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले थप ६ कर्मचारीलाई तानेको छ ।

प्राप्त सूचीअनुसार तानिनेमा ६ नायब सुब्बाहरू छन् । उनीहरूलाई बिहीबारमात्रै तानिएको मन्त्रालय स्रोतले जानकारी दियो । यद्यपि उनीहरूलाई दिइएको पत्रमा मिति भने मंगलबारको राखिएको छ ।

त्यहाँबाट तानिएका युवराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक पठाइएको छ । त्यस्तै दत्त लामालाई जिल्ला प्रशासन कार्यालय जाजरकोट, गोविन्दप्रसाद अधिकारीलाई जिल्ला प्रशासन कार्यालय गोरखा र तेजराज गौतमलाई जिल्ला प्रशासन कार्यालय बागलुङ पठाइएको छ ।

सुवास केसीलाई जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम र कुवेर प्रसाद दाहाललाई जिल्ला प्रशासन कार्यालय धनकुटा सरुवा गरिएको प्राप्त सूचीमा उल्लेख छ ।

तानिएका मध्य चार जना त्यस कार्यालयमा काजमा गएका थिए । लामाको अध्यागमन विभाग, गौतमको अध्यागमन विभाग, केसीको इलाका प्रशासन कार्यालय सातविसे नुवाकोट र दाहालको अध्यागमन विभागमा दरबन्दी रहेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा काजमा थिए ।

यी सुब्बाहरूलाई पनि कार्यालय प्रमुख भट्टराईले सेटिङमा प्रयोग गर्ने गरेको सूचनाका आधारमा सरुवा गरिएको निकटस्थ स्रोतले जानकारी दियो ।

भिजिट भिसा प्रकरणका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार कार्यालयमा छापा मारेर सरुवा भइसकेका तर रमाना नबुझेका प्रमुख भट्टराईलाई नियन्त्रणमा लिई उनको मोबाइल जफत गरेको थियो । अख्तियारले उनलाई छोडे पनि मोबाइल भने अनुसन्धानका लागि ‘फरेन्सिक ल्याब’मा पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्