अछाम, २३ असोज । .अछाममा नेकपा एमालेका नेता भीम रावलका कार्यकर्ता तथा समर्थकले कालो झण्डासहित पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।
जिल्लाबाट सर्वसम्मत सिफारिस भएका भीम रावलको टिकट खोसेर केन्द्रले झपट बोहरालाई दिएको विरोधमा उनीहरुले कालो झण्डासहित ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।
अछाम क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार झपट बोहराले मनोनयन दर्ता गर्ने क्रममा नाराबाजी गरिएको हो। नाराबाजी गर्ने बेला प्रतिनिधिसभा सदस्यको टिकट पाएका झपट बोहरा पनि मनोनयन दर्ता गर्न गइरहेका थिए ।
उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन् ।







