Logo

भुटानको डागा युनाइटेड भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा



झापा, १२ फागुन । डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ ।

भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

अत्यन्तै रोमाञ्चक खेलको ३४ औँ मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै भुटानलाई अग्रता दिलाए । सुरज रसाइलीले पेनाल्टी एरियामा एपिएफका तीनजना डिफेन्ससँग खोसेको बललाई पाख्रिनले गोल गर्न सफल भए । उनको प्रहारले एपिएफका खेलाडीलाई टच गर्दै जाली चुमेको थियो ।

त्यसको दुई मिनेटमै भुटानले अग्रता दोब्बर बनायो । खेलको ३६ औँ मिनेटमा वसन्त नेवारको क्रस पासमा हेमराज भुजेलले वान टचमा सुन्दर गोल गरे । खेलको ५९ औँ मिनेटमा एपिएफका दिपेश धिमालले गोल फर्काउँदै टिमलाई २–१ मा ल्याए ।
मणिकुमार लामाको कर्नर किकमा धिमालले हेडमार्फत गोल गरेका थिए । खेलको ६३ औँ मिनेटमा भुटानले ३–१ को अग्रता बनायो । एपिएफका गोलकिपर श्रेष्ठ अगाडि बढेको अवस्थामा हेमराज भुजेलले गोल गरे । दुईजना डिफेन्डरलाई बिट गरेर उनले मध्य भागबाट लगेको बललाई जाली चुमाएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा एपिएफले खेललाई ३–२ पुर्यायो । भुटानका जम्सो तेन्जिङले पेनाल्टी एरियाभित्र विपन श्रेष्ठलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए । त्यसलाई सदुपयोग गर्दै सुमन श्रेष्ठले गोल गरे ।

खेलको प्लेयर अफ द म्याच भुटानका खेमराज भुजेलले भए । उनले नगद २१ हजार र ट्रफी पाए ।

सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत भोलिको पहिलो सेमिफाइनल खेल आयोजजको भद्रपुर ब्लेजर्स र बंगलादेशको काउर्न बाजार प्रगति संघबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिनुभयो ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताpg’eof] । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्