काठमाडौँ, ५ असार । भुटानी शरणार्थी नेता डा भाम्पा राईको आइतबार बिहान २ः४० मा ७५ वर्षको उमेरमा निधन भएको छ ।झापाको दमकमा बसेर बिगत तीन दशकदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा. राईको नोबल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
पेटको रोगबाट पीडित डा. राईको पाँच दिन अघि हर्नियाको शल्यक्रिया भएको थियो । शनिबार दिउँसो मुटुको चालमा गडबडी भएपछि सुरुमा दमकस्थित लाइफलाइन अस्पतालमा त्यसपछि विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको थियो । राईको आइतबार किरात संस्कारअनुसार दमकमा अन्त्येष्टि गर्ने तयारी छ ।
राई भुटानी राजाका निजी डाक्टर थिए । सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि उनी आफ्नै इच्छाले नेपाल आएका थिए । उनी राई, श्रीमती, र बुवा-आमालाई सहित नेपाल आएका थिए । आमा विष्णुमायाको २०५४ सालमा र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियो । दुई वर्षअघि उनकी श्रीमती उर्मिलाको पनि निधन भएपछि भम्पा डेरामा एक्लै बस्दै आएका थिए ।
राईलाई गत जेठ १३ देखि दमक नगरपालिकाले दमक-५ मा निःशुल्क बस्ने व्यवस्था गरिदिएको थियो । राईका छोरा-छोरी छैनन् ।