काठमाडौँ, २४ कात्तिक । विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाको मुद्दाको सुनुवाइ मंसिर ५ गते उच्च अदालत पाटनमा हुने भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा साढे चार महिनादेखि थुनामा रहेका नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दामा तिहारपछि मात्रै सुनुवाइ हुने भएको हो ।
उच्च अदालत पाटनका न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दामा धेरै कानुन व्यवसायी रहेकाले मंसिर ५ का लागि पेसी तोक्ने आदेश गरेको हो । मुद्दामा बहस गर्ने कानुन व्यवसायीहरू धेरै भएकाले तिहारअघि बहस नसकिने भएकाले पछाडि सारिएको हो । ‘मुद्दाको प्रकृति र संलग्न कानुन व्यवसायीको संख्यासमेतलाई दृष्टिगत गरी २०८० मंसिर ५ गते पेसी तोकी नियमानुसार गर्नू,’ बिहीबारको आदेशमा भनिएको छ ।
प्रवक्ता तीर्थराज भट्टराईका अनुसार २२ प्रतिवादीको एकैसाथ मुद्दाको सुनुवाइ हुँदैछ । काठमाडौँ जिल्ला अदालतले थुनामा पठाएपछि त्यसविरुद्ध थुनामा रहेकाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गरी लिखत किर्ते २२ जनाको मुद्दा एकमुष्ट हेरिएको प्रवक्ता भट्टराईले जनाए । ‘तिहारको बिदा भएकाले मंसिर ५ का लागि पेसी तोकिएको छ,’ उनले भने, ‘मुद्दाको प्रकृति र संलग्न कानुन व्यवसायीको संख्या समेतलाई विचार गर्दा तिहार पछि समय तोकिएको हो ।’
थुनामा रहेका प्रत्येक प्रतिवादीले बहसका लागि तीन जना कानुन व्यवसायी वकालतनामा लिएका छन् । एक जनालाई बहस गर्न १५ मिनेटको समय दिए पनि ९०० घण्टा लाग्ने देखिएको छ । अदालतका अनुसार ६० जना कानुन व्यवसायीले बहस गर्दैछन् । गत असार २ मा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले ठगी, लिखत किर्ते, राज्यविरुद्धको संगठित अपराध मुद्दामा १८ जनामध्ये दुईजनाबाहेकलाई थुनामा पठाउने आदेश दिएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधसहितमा जेठ १० गते मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत काठमाडौँको आदेशलगत्तै पक्राउ परेका १६ जनालाई सुन्धारास्थित जगन्नाथ देवल जेलमा राखिएको छ । पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत थुनामा छन् ।
त्यस्तै हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङ्टावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी र रायमाझीका छोरा सन्दीप, बिचौलियाका रूपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, रामशरण केसी र हरिभक्त महर्जन पनि जेल चलान भएका हुन् ।
रायमाझी, खाण, नरेन्द्र, चौधरी, रामशरण, मियाँ, सन्दीप र आङ्टावालाई भद्र बन्दी गृह तथा पाण्डे, रिजाल, इन्द्रजित, दुलाल, भण्डारी, शर्मा, महर्जन र सागर थुनामा छन् । लक्ष्मी महर्जन र टंक गुरुङ भने धरौटीमा रिहा भएक थिए । यो समाचार नागरिक दैनिकमा छ ।







