काठमाडौँ, २२ असोज । नेकपा एमाले परित्यागको घोषणा गरेका घनश्याम भुसालले रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिने भएका छन् । भुसालले माओवादी नेता वर्षमान पुन, राम कार्की लगायतसँग लामो समवाद पछि आज बिहान भएको प्रचण्डसँगको सम्वाद पछि उनी एमाले परित्याग गर्ने निष्कर्षमा पुगेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफुविरुद्ध संसदमा हस्ताक्षर गर्ने कसैलाई पनि टिकन नदिने भएपछि एमालेमा भुसाल समूहले विद्रोहको तयारी गरेको हो । भुसालले एमालेमा विधि र पद्धति पुनःस्थापनाको सम्भावना नभएकाले पार्टी परित्यागको घोषणा गरेको बताएका छन् ।
भुसाल निकटका एमाले कार्यकर्ताले रुपन्दही १ मा स्वतन्त्र उम्मेदवारी दिने भने पनि भुसालले माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिने माओवादी एक नेताले बताए । उनले भुसाल मात्र हुँदा स्वतन्त्र उम्मेदवार बनाउन समस्या थिएन तर अन्य कतिपयलाई पनि उम्मेदवार बनाउनु पर्ने भएकाले हँसिया हथौडा चिन्ह लिने सम्भावना रहेको बताए ।
रुपन्देही १ माओवादी केन्द्रले पाएको छ । एमालेले राप्रपाका दीपक बोहरालाई समर्थन गरेको छ । माओवादी एक नेताका अनुसार झापालगायतका जिल्लाबाट भुसाल निकटका नेताको उम्मेदवारी पर्न सक्ने सम्भावना भएकाले माओवादी चुनाव चिन्ह लिने कुरा भएको हो । भुसाल मात्र उम्मेदवार भए स्वतन्त्र हुन सक्छन्, अरु पनि उम्मेदवार हुने अवस्थामा माओवादीको चिन्ह हुन्छ ।







